काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लगाइएकाे आराेप राजनीतिक पूर्वाग्रहकाे पराकाष्ठ भएकाे बताउनुभएकाे छ ।
अर्थमन्त्रीबाट राजीनामा दिनुअघि बुधबार प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै उहाँले आफूप्रति राजनीतिक पूर्वाग्रह साँधिएको आराेप लगाउनुभयाे । आफूलाई दाेषी करार गरिएकाे भन्दै शर्माले आपत्ति जनाउनुभयाे ।
एमाले सांसद् याेगेश भट्टराईलाई लक्षित गर्दै उहाँले भन्नुभयाे - 'उहाँ (योगेश भट्टराई) ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु, सैनिक नेतृत्वले जस्ताे दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो, सच्चाइ र तथ्यको गहिराईमा पुग्नैपर्छ, राजनीतिक प्रतिशोधको भावनामा उठेका प्रश्नको सच्चाईमा पुगिएन भने कसैलाई अन्याय हुन्छ भन्ने पनि हेक्का राखौं ।'
तोकिएका व्यक्तिलाई मात्र संलग्न गराएर बजेट निर्माण गरेकाे अर्थमन्त्रीकाे दाबी छ । 'मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन, करको दरमा हेरफेर गर्ने विषयमा नीतिगत निर्देशनमात्रै दिएको हूँ, बजेट भाषणकाे अघिल्लाे दिन राति ११ बजे मन्त्री निवास गएको र बिहान ६ बजे मन्त्रालय पुगेको हूँ, म मन्त्रालयमा पुग्दा अर्थ सचिव सोफामा पल्टिरहनुभएको थियो'-उहाँकाे दाबी छ ।
आफूले संसद्मा बाेल्नका लागि कुनै नैतिकता नगुमाएकाे र कुनै पूर्वग्राह राखेर बजेट नल्याएकाे दाबी गर्दै शर्माले प्रश्न गर्नुभयाे । 'मैले संसद्मा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ ? के कारणले म अनैतिक भएँ ? शर्माले अहिले जे देखियो त्यो पूर्वाग्रहको पराकाष्ठा हो ।'
बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएकोबारे आफूलाई जानकारी नभएको दाबी गर्दै शर्माले भन्नुभयाे - ''कुन सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ ? डिलिट गरेको भन्ने कुरा म खारेज गर्छु, म कसरी डिलिट गर्छु ?' आफूमाथि छानबिन गर्न समिति बनाइएकाेमा उहाँले धन्यवाद पनि दिनुभयाे ।
तस्करी घटाउन कर बढाएको दाबी गर्दै उहाँले भन्नुभयाे - 'तस्करी घटाउनु अनियमितता हो ? तस्करीहरु मैले बन्द गरेको छु, बजेटका नीतिले करका दर हेरफेर गर्दा कहाँ सूचना चुहाइयो छानविन गरियोस् ।' कुनै व्यापारिक घरानाका लागि नभएर देशको अर्थतन्त्र, उत्पादनलाई वृद्धि दिने, कृषिलाई प्राथमिकता दिने, किसानलाई प्राथमिकता दिने बजेट निर्माण गरेकाे शर्माकाे दाबी छ ।
प्रतिनिधि सभामा जंगिदै जवाफ दिनुभएका शर्माले छानबिन समितिलाई काम गर्न सजिलाे हाेस भनेर आफूले मार्गप्रशस्त गरेकाे बताउनुभयाे । 'युवाहरुले,नागरिक समाजकाे राजीनामाको मागलाई म सम्मान गर्छु, एउटा मात्रै नभएर हजारौं छानबिनका लागि तयार छु ।'
छानबिनपछि सत्यतथ्य सबै आउने र आफ्ना कामलाई साेहीअनुसार अगाडि बढाउने पनि शर्माले बताउनुभयाे । 'मेरो राजीनामा माग्ने नागरिक समाज, युवाको आवाजलाई सम्मान गरेर मैले राजीनामा दिएको छु, मैले कुनै गल्ती गरेको छैन, तथ्यमा गइदिनुहोला ।'
