काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख अग्नि सापकोटाले औषधि तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति जनाउनुभयाे ।
लगत्तै सभामुख सापकोटाले उपस्थित सांसद्को गणना गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयका कर्मचारीलाई दिनुभयाे । साे अवधिमा पनि सांसद्हरु बैठकमा आएनन् । गणपूरक संख्या पुगेन । बैठकमा ६५ जनामात्रै उपस्थित थिए । त्यसपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे हाे ।
संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ सांसद् उपस्थित हुनुपर्छ ।
