काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे २ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-२०७८' पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
गृहमन्त्री बालकृष्ण खाँडले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५' फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९' सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ । गृहमन्त्री खाँडले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९' पारित गरियाेस् भनि प्रस्ताव पेस गर्नुहुनेछ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले 'विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि छलफल गरियाेस्' भनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । मन्त्री चौधरीले नै 'खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्' भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले 'कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
