काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव प्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् गुरुङले एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिकालाई पठाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'एसपीपीमा सम्झाैता नगर्ने भन्ने निर्णय अनुसार अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएकाे छैन,अबिलम्ब अमेरिकालाई पत्राचार गरियाेस् ।'
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियाे । गृह मन्त्रालयमार्फत साे पत्र परराष्ट्र मन्त्रालयमा पुगेको छ । परराष्ट्रले पत्र अध्ययन भइरहेकाे बताएकाे छ ।तर अझै अमेरिकालाई पठाएको छैन ।
०१९ देखि आईपीएसकाे सदस्य भन्ने कुरा आएकाे भन्दै उहाँले नेपाल आईपीएसकाे सदस्य कुनै हालतमा बन्न नसक्ने बताउनुभयाे । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसद्ले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उहाँले यसबारे प्रष्ट हुनुपर्ने बताउनुभयाे । १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकारे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङकाे भनाइ छ ।
