काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएकाे बजेट खारेज गर्न माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सुवालले अर्थमन्त्री शर्माकाे राजीनामा भइसकेको अवस्थामा उहाँले प्रस्तुत गरेको बजेट पनि खारेज गर्नुपर्ने बताउनुभयाे ।
'गोपनियता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित भनिएको बजेट खारेज गरी नयाँ बजेट पेस गर्नु जरुरी छ, अर्थमन्त्रीको पार्टी, गोपनियता भंग गर्ने पार्टीका अध्यक्ष र सरकारका प्रधानमन्त्री दुबैलाई यसबारे जिम्मेवार बनाउनु जरुरी छ'-उहाँकाे भनाइ छ ।
कांग्रेसका नेता शेखर कोइरालाले यो सरकारका पालामा संस्थागत भ्रष्टाचार बढेको भन्ने अभिव्यक्ति दिनुभएकाे भन्दै सांसद् सुवालले प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानबिन हुनुपर्ने माग गर्नुभयाे ।
मन्त्रिपरिषद्ले एसपीपी खारेज गर्ने निर्णयलाई अध्ययन हुँदैछ भनेर पत्राचार नगर्ने परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कारबाही हुनुर्ने माग गर्दै उहाँले प्रश्न गर्नुभयाे- 'परराष्ट्रमन्त्रीलाई किन कारबाही हुँदैन ?'
नगरकाेट र दुवाकाेट सडक समयमा सम्पन्न नहुँदा स्थानीय र पर्यटकलाई समस्या भएकाे भन्दै सांसद् सुवालले तत्काल सडक सम्पन्न गराउन सरकारसँग माग गर्नुभयाे ।
