काठमाडाैं । काठमाडाैं उपत्यका (काठमाडाैं, ललितपुर र भक्तपुर) को सुरक्षा सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने भएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै संशोधन सहित पारित गरेको हो ।
उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावमा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थपेर पास गर्ने गरी सहमति भएको हो । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा समितिले प्रदेशको पनि भूमिका रहने गरी बुँदा थपेर अघि बढाउने निष्कर्ष निकालेको हो ।
संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धान समेत नेपाल प्रहरीले गर्ने उल्लेख छ । अध्यागमनसम्बन्धी कसुरको अनुसन्धान नेपाल प्रहरीले नै अनुसन्धान गर्ने कुरालाई यथावत राखिएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले गम्भीरपूर्वक नै उपत्यकाको दायित्व निर्वाह गर्नुपर्ने भएकाले नै साे संशोधन ल्याइएको प्रष्ट पार्नुभयाे । उहाँले संशोधनलाई पूर्ववर्ती सरकारले अघि बढाएको र अहिलेको सरकारले समेत निरन्तरता दिएको समेत जानकारी दिनुभयो । अहिले साे व्यवस्था अध्यादेशको रुपमा कार्यान्वयनमा रहेको मन्त्री खाँडले प्रष्ट पार्नुभयाे । गृहमन्त्री खाँडले साे संशोधन विधेयक गत जेठ २९ गते सदनमा दर्ता गर्नुभएको थियो ।
यसअघि छलफलमा माओवादीका सांसद्ले राजधानीको सुरक्षाका विषयमा प्रदेश प्रहरीको अधिकार कटौति हुन नहुने बताएका थिए । एमाले र कांग्रेसका सांसद्ले उपत्यकाको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नै गर्नुपर्ने गरी ल्याइएको संशोधनप्रति समर्थन जनाएका थिए ।
बैठकमा सबै सांसद्काे धारणा आएपछि गृहसचिव पाण्डेले प्रदेशको पनि समन्वय रहने गरी बुँदा थप गरेर अघि बढाउने जानकारी गराउनुभएको थियो । यसपछि समितिका सभापति मुकुन्द न्यौपानेले त्यहीअनुसार बुँदा थप गरेर विधेयक अघि बढाइने कुरा समितिबाट पास भएको जानकारी गराउनुभयो ।
