काठमाडौं । नेकपा एमालेका प्रमुख सचेत विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले २ वर्ष छलफल गरेर सहमति नजिक पुगेकाे विधेयक फिर्ता लिएर सरकारले नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको बताउनुभयाे । सहमति नजिक पुगेको साे विधेयक फिर्ता लिने सरकारकाे निर्णयले आफूहरु आश्चर्यचकित भएको उहाँकाे भनाइ छ ।
विधेयक फिर्ता गर्नुपर्ने कुनै कारण नभएकाे पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयाे । उहाँले भन्नुभयाे - '२ वर्ष लगाएर छलफल गरेर र एक हिसाबले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हक खाेस्ने काम भएकाे छ, हामीले लामाे समय समिति र सदनमा नागारिकता विधेयकमा छलफल गर्याैं, एकहिसाबले सर्वसम्मतिका साथ टुंग्याउने वातावरण बनिसकेकाे थियाे,त्याे विधेयक जस्ताकाे तस्तै फूल हाउसमा ल्याएर पास गरेर वञ्चित भएका लाखाैं नागरिकलाई नागरिकता दिलाऔं भन्ने ।'
एमालेले एक किसिमले नागरिकता विधेयक पास गर्न सहयोग गर्न तयार रहेको भएपनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका कुरा नहेरी आँखा चिम्लेर समर्थन गर्न नसकिने पनि भट्टराईले प्रष्ट पार्नुभयाे ।
छिटो भन्दा छिटो ऐन पास गरेर नागरिकताबिहीनलाई नागरिकता दिएर राज्य भएकाे अनुभूति दिलाउन समेत भट्टराईले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
