काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे २ बजे बस्ने बैठकका लागि ३ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले 'नेपाल नागरिकता (पहिलो) संशोधन, २०७५' फिर्ता गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
बिहीबार पनि सम्भावित कार्यसूचीमा राखेर पछि त्यसलाई हटाइएकाे थियाे । प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयक सरकारले फिर्ता लिन लागेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने नागरिकता विधेयक फिर्ता गर्ने सरकारकाे निर्णयको विरोध गरेको छ । २ वर्षसम्म विधेयकका लागि कराेडाैं खर्च भएकाे भन्दै एमालेले साेही विधेयक अगाडि बढाउन माग गरेकाे छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले 'योगेमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्' भन्ने प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
