काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लागेको भन्ने प्रश्न गर्दै असन्तुष्टि जनाउनुभयो ।
सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्काे नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गर्नुभयो ।
शून्य समयमा सांसदहरुले बाढी पहिरो नियन्त्रण र राहत दिइनुपर्ने, विद्यालयका पाठ्यपुस्तक समयमा उपलब्ध हुनुपर्ने र किसानहरुले रासायनिक मल पाउनुपर्ने, कमलबजार विमानस्थल बन्नुपर्ने, हुम्लामा छिटो खाद्यान्न उपलब्ध हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरुले काठमाडौंको दक्षिणकाली क्षेत्रको सडक सुधार हुनुपर्ने, धरान धनकुटा सडक व्यवस्थित गर्नुपर्ने, विदेशी मुद्राको सञ्चिति वृद्धि गर्नुपर्ने, माथिल्लो अरुणको बाँध जाने बाटो सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
शून्य समयमा सांसदहरु भीमसेनदास प्रधान, मीना सुब्बा, मीन विश्वकर्मा, यज्ञबहादुर बोगटी, यशोदा गुरुङ सुवेदी, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट, रेणुका गुरुङले धारणा राख्नुभएको थियो ।
नेपाल प्रहरीसम्बन्धी विधेयक प्रस्तुत
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन प्रस्तुत भएको छ ।
बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सो समितिमा दफाबार छलफलबाट विधेयक सभासमक्ष प्रस्तुत भएको हो ।
–रासस
