काठमाडौं । सरकारले प्रतिनिधि सभामा विचाराधीन रहेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ फिर्ता लिएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकले विधेयक फिर्ता लिने निर्णय बहुमतले स्वीकृत गरेकाे हाे । बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले विधेयक फिर्ता लिइयाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्यसपछि सभामुखले साे प्रस्ताव निर्णयार्थ पेस गर्नुभएकाे थियाे ।
कृष्णभक्त पाेखरेल, भीम रावल, शेरबहादुर तामाङ, घनश्यामा खतिवडा,प्रेम सुवाल, कृष्णप्रसाद दाहाल,विद्या भट्टराईले राख्नुभएकाे विराेधकाे प्रस्ताव बहुमतले अस्वीकृत भएकाे घाेषणा सभामुखले गर्नुभएकाे छ । अमनलाल माेदीले भने विराेधकाे प्रस्ताव फिर्ता लिनुभएकाे थियाे ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ साउन २२ गते साे विधेयक प्रतिनिधि सभामा दर्ता गराएको थियो । ओली सरकारले सदन नभएका बेला अध्यादेशमार्फत नागरिकता विधेयक ल्याएकाे थियाे । सर्वाेच्च अदालतले त्यसलाई राेकिदिएकाे थियाे ।
वर्तमान सरकारले अर्को विधेयक ल्याउने गरी प्रतिनिधि सभामा विचाराधीन रहेको साे विधेयक फिर्ता लिएको हाे । गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे विधेयक ल्याउने जानकारी दिनुभयाे ।
