कर्णाली । कर्णाली प्रदेश सभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गर्नुभएको छ ।
कर्णाली प्रदेशसभाको १०औँ अधिवेशनको २०औँ बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको पूर्वाधार विकासमा दोब्बर बजेट थप्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 'हुम्लामा र डोल्पामा विकास सामग्री हवाईजहाजबाट ढुवानी गर्नुपर्छ', उहाँले भन्नुभयो, 'यसले गर्दा सुर्खेतमा लाग्ने विकास खर्चभन्दा ती जिल्लाहरूमा दोब्बरले बजेट बढ्छ ।'
यो अवस्थालाई सरकारले ध्यान नदिइ बजेट विनियोजन गर्दा विकट हिमाली जिल्लाहरू मर्कामा परेको टिप्पणी उहाँले गर्नुभयो । चालु आर्थिक वर्ष २०७८/७९ मा सामाजिक विकास मन्त्रालयले हिमालदेखि भित्री मधेसका जिल्लामा ४० लाख रुपैयाँका विद्यालय भवन निर्माणकार्य समतामुखी नभएको र त्यसबाट हिमाली जिल्लामा पर्न गएको क्षति सरकारले व्यहोर्नुपर्ने उहाँको जिकिर थियो ।
सरकारले अब हिमाली जिल्लाको विकटतालाई बुझेर बजेट दोब्बर गर्नुपर्ने वा आफैंले ढुवानी दिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सभा सदस्य शाहीले कर्णाली सरकारले जगदुल्ला जलविद्युत् आयोजनामा शेयर लगानी गरेको प्रति प्रंशसा गर्दै यही २२ गतेको बाढीले डोल्पा पूर्ण क्षति भएका १० घरका परिवारलाई क्षति तथा राहत उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको थियो ।
–रासस
