काठमाडाैं । जनता समाजवादी पार्टीकी सांसद् लिलादेवी सिटौलाले नेपालमा परिवाद चलिरहेकाे बताउनुभएकाे छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् सिटौलाले श्रीलंकाको जस्तै परिवारवाद नेपालमा पनि चलिरहेको भन्दै त्यसबाट बच्न प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गर्नुभयाे । देशलाई श्रीलंकाको बाटोमा जान नदिन संघ र प्रदेशको सांसद् संख्या घटाउन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
'श्रीलंकालाई परिवारवादले टाट पल्टाएको समाचार छ्यापछ्याप्ती आइरहेको छ, नेपालमा पनि राणा राजाका पालामा परिवारवाद थियो, आज संघीय गणतन्त्र नेपालसम्म आइसकेपछि पनि रुपमा फरक देखिएपनि सारमा परिवारवाद नै चलिरहेको छ, जसको कारण दिनप्रतिदिन टाट पल्टिदै गइरहेको छ, अब प्रत्यक्ष कार्यकारीको व्यवस्था गरौं, त्यसका लागि छलफल गरौं, स्थानीय निकायलाई प्रदेश मातहत राखौं, संघ र प्रदेशको जम्बो सांसद् घटाएर सानो बनाऔं, तर पूर्ण समानुपातिक समावेशी बनाऔं'-सिटाैलाकाे भनाइ छ ।
उहाँले केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा, अर्थ, गृहलगायत ६ वटा मन्त्रालय राखेर बाँकीलाई प्रदेशमा राख्न सुझाव दिनुभयाे । 'केन्द्रमा ५-६ वटा मन्त्रालय मात्र राखौं, विकासे पुँजीलाई केन्द्रिकृत नगरौं, जनताको घर आँगनमा पुर्याउन प्रदेशमार्फत काम गरौं, प्रत्यक्ष कार्यकारीले संविधान विपरित काम गरे संसद्को बहुमतले फिर्ता बोलाउन सक्ने नियम बनाऔं'-सांसद् सिटाैलाकाे सुझाव छ ।
