काठमाडौं । बाजुराकाे बुढीगंगा घटनालाई लिएर नेकपा एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खातीकाे राजीनामा माग्नुभएकाे हाे । स्थानीय चुनाव अन्तर्गत बाजुराकाे बुढीगंगा नगरपालिकामा भएकाे चुनावमा अमर्यादित गतिविधि गरेकाे तथ्य बाहिरिएकाले महाधिवक्ताले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयाे ।
दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै भट्टराईले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - '३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर-४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ, तर अहिलेसम्म उहाँले राजीनामा दिनुभएको छैन,अहिले प्राप्त भएकाे म्याण्डेज हेर्दा र निर्वाचन आयाेगले दिएकाे किटानी हेर्दा उहाँले राजीनामा दिनुपर्छ ।'
वैशाख ३० गते देशैभर चुनाव हुँदा बुढीगंगामा बिनाकारण चुनाव रद्द गरेकाे भन्दै उहाँले धेरै ठूलाे प्रपञ्च र जालझेलबीच पनि एमालेले मेयर र उपमेयरसहित ५२ पदमा जितेकाे बताउनुभयाे ।
महान्यायाधिवक्ता खाती बुढीगंगामा कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीका सहाेदर दाजु हुनुहुन्छ । रंगबहादुरलाई हराउँदै एमालेका रामबहादुर बानियाँले मेयरमा जित्नुभएकाे छ । बुढीगंगाका १० वटा वडामध्ये ७ वडाध्यक्षसहित मेयर र उपमेयर तथा सदस्यसहित ५२ पद जितेकाे छ ।
