काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष पनि मूल्यवृद्धि बढ्ने बताउनुभएकाे छ ।
सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गर्भनर अधिकारीले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अत्याधिक बढेकाले नेपालमा पनि लक्ष्य भन्दा माथि नै मूल्यवृद्धि हुने बताउनुभयाे ।
चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमामा मात्र राख्न कठिन भएकाे उहाँकाे भनाइ छ । 'मूल्यवृद्धि हामीले आशा गरेको भन्दामाथि नै जाने सम्भावना छ, आगामी वर्षमा पनि दबाबमूलक नै देखिन्छ'-गभर्नर अधिकारीकाे भनाइ छ ।
देशको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक निति ल्याइने पनि उहाँले बताउनुभयाे । यसअघि महामारीका बेला विभिन्न कार्यक्रम ल्याएपनि अहिले अवस्था सहज भइसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहको गभर्नर अधिकारीले प्रष्ट पार्नुभयाे ।
पछिल्लो समय बढेको उच्च मुद्रास्फितिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको व्याजदर बढाएरै यसकाे समाधानको बाटो खोज्नुपर्ने उहाँले बताउनुभयो । अहिले आयात उच्च हुँदा वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेको र शोधनान्तर घाटा पनि बढ्दै गएको समेत गभर्नर अधिकारीले जानकारी दिनुभयो ।
अहिले ९ दशमलव २८ अर्बको विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्नसक्ने अवस्था रहेको पनि गभर्र अधिकारीले बताउनुभयाे ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर बिषय भएको भन्दै उहाँले यस बिषयमा केन्द्रीय बैंक गम्भीर रहेको बताउनुभयो रेमिट्यान्सलाई औपचारिक रुपमा भित्राउनु पनि चुनौती हुँदै गएको समेत उहाँले बताउनुभयाे । कर्जा प्रवाहमा ठूला घरनाले फाइदा लिँदा रिक्स बढेपनि यसलाई तत्कालै रोक्न नसकिने समेत गभर्नर अधिकारीले बताउनुभयाे ।
