काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सांसद् र सांसदको विधान बनाउने कुरामा ध्यान जान नसकेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै दाहालले संसद् र सांसदको ध्यान कानुन बनाउने भन्दा पनि अन्य कुराकमा बढी केन्द्रित भएको बताउनुभयो । ‘विधेयक बनाउने सन्दर्भमा किन यस्तो भइरहेको छ ?’, दाहालले प्रश्न गर्नुभयो । दाहालले ड्राफ्ट भएका विधेयक पनि समिति र संसद्मा अड्किरहेका बताउनुभयो । कतिपय विधेयक संसदमा आउने र फेरी फिर्ता लैजान अपरिपक्व काम भइरहेका भन्दै उहाँले आपत्ति जनाउनुभयो । कानुन नबन्ने मात्र होइन बनेका कानुन पनि कार्यान्वयनमा नआएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । संविधानको मौलिक अधिकारमा व्यवस्था गरिएका विषयसँग सम्बन्धित कानुन समेत नबनेका प्रति उहाँले सरोकारवालाको ध्यानाकर्षण गराउनु भयो । ‘संविधानमा उल्लेख गरेका कुरा जनताले किन नपाउने ? जनताले ती अधिकार पाउनु पर्यो, जनताका अधिकार सुनिश्चित गर्नु पर्यो’, उहाँले भन्नुभयो । कानुन नबनाउने तर अध्यादेश मार्फत आफ्नो अनुकूल निर्णय गराउन सरकार उद्धत रहेको उहाँले बताउनुभयो । अहिलेको सरकार नै परमादेशबाट आएको भन्दै उहाँले उसको काम र चरित्र पनि त्यस्तै भएको दाहालको भनाइ छ ।
हिजो आफैले विरोध जनाएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमा आज तिनै विषय समेटेर सरकारले ल्याउन लागेको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकार आफ्नो अनुकूल मात्र काम गर्ने निर्लज्ज ठाउँ नभएको उहाँले बताउनुभयो ।
