काठमाडौं । ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रिय सभाबाट सर्वसम्मतिबाट पारित भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानून ल्याइएको बताउनुभयो ।
तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको जनाउँदै उहाँले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यसको दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बताउनुभयो ।
पाँच विधेयक टेबुल
राष्ट्रिय सभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल भएका छन् ।
‘फौजदारी कसूर तथा फैजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ टेबुल भएको हो ।
राष्ट्रिय सभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले उक्त विधेयक टेबुल गर्नुभयो । ती विधेयकमाथि राष्ट्रिय सभामा छलफल हुनेछ । राष्ट्रिय सभाको अर्को बैठक आजै ४५ मिनेटपछि पुनः बस्ने गरी स्थगित भएको छ ।
-रासस
