काठमाडौं । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा उहाँले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताउनुभयो । 'राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन', सांसद गौतमले भन्नुभयो, 'लाजमर्दो स्थिति छ, पुरुष भएको भए चार दिनमै राखिन्थ्यो तर महिला भएकाले अहिलेसम्म उपाध्यक्ष खाली छ ।'
उहाँले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताउनुभयो । 'संविधानमा नै प्रष्ट रुपमा लेखिएको छ, सभामुख पुरुष भए उपसभामुख महिला हुने वा सभामुख महिला भए उपसभामुख पुरुष हुनेछ भनेर, त्यस्तै व्यवस्था राष्ट्रिय सभामा पनि छ', सांसद गौतमले भन्नुभयो, 'दुवै सदनमा महिला अनिवार्य भएको पदमा छैनन्, महिला सांसदहरुले यसबारेमा आन्दोलन नै गर्नुपर्ने होइन ?'
–रासस
