काठमाडौं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना हतार-हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार किन्न लागिएको भन्दै आपत्ति जनाएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै सांसद् अधिकारीले बाेलपत्र आव्हान नगरी इटालीकाे बदनाम कम्पनीबाट हतार-हतार हतियार खरिद गर्न लागेकाे भन्दै आपत्ति जनाउनुभयाे । आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर हतियार ल्याउन लागिएको विषय अत्यन्तै गम्भीर विषय भएकाे उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'सरकारले नाइन एमएम पेस्तोल १ हजार थान खरिद गर्न लागेको छ, १ हजार १ सय ५० सट गन खरिद गर्दैछ, २५ सय सेल अश्रु ग्याँसको गोलीगठ्ठा सरकारले किन्दैछ,इटालीकाे सबैभन्दा बदनाम कम्पनीबाट कुनै पनि सुरक्षा अध्ययन नगरीकन खरिद गर्दैछ कुनै पनि ग्लोबल टेन्डर नगरीकन, १२ बाेर छर्रा हान्न सक्ने,मानवअधिकारसँग सम्बन्धित संघसंस्थाले याे अनुचित छ र किन्न हुन्न भनेकाे छ ।'
जनताको छातीमा छर्रा हानेर जनताले सुरक्षा हुन नसक्ने सांसद् अधिकारीले बताउनुभयाे । '२ दिनभित्र एलसी खाेल्न दबाब दिइँदै छ अत्यन्तै ठूलाे ठाउँबाट,याे कसका लागि कमिशनका लागि कि ? जनताकाे जीउधनकाे सुरक्षाका लागि ? जनताकाे सुरक्षा जनताकाे छातीमा छर्रा हानेर हुन सक्दैन,स्वयंम सेक्युरीले समेत छर्रा हान्न पाइँदैन भनेकाे छ,जनताकाे छाती छर्रा हान्ने बन्दुक किन्न कसले इजाजत दिाे । ।'
सरकार कमिशनमा चुर्लुम्म डुबेकाे सांसद् अधिकारीले बताउनुभयाे । 'हामी मानव अधिकारको सम्मान गर्ने मुलुकमा पर्छौं, यस्तो ठाउँमा अरब भन्दा बढीको कमिशनको खेल भइरहेको छ, कमिशन बाहेक याे सरकारले नजर अन्त जान्छ कि जाँदैन ? याे सरकार कमिशनै कमिशनमा चुर्लुम्म डुब्न थालेकाे छ र सरकार बदनाम भएकाे छ, देशलाई नै बदनाम बनाएकाे छ'- उहाँले भन्नुभयाे ।
प्रहरी प्रशासनलाई दबाब दिएर विज्ञप्ति निकाल्न लगाइएकाे समेत उहाँले बताउनुभयाे । कुन-कुन मितिमा कसले माग्याे प्रधानमन्त्री र गृहमन्त्रीले त्यसकाे जवाफ सदनलाई दिनुपर्ने माग अधिकारीले गर्नुभयाे । 'ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन ?, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउनुपर्छ ।'
