काठमाडाैं । सत्ता गठबन्धनका नेताहरु नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि खनिएका छन् ।
नेकपा एमालेकाे अर्थ याेजना विभागमा रहेकाे एम अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी भएकाे दाबी गर्दै नेपाली कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसद्ले विराेध गरेका हुन् ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे विशेष समयमा बाेल्दै कांग्रेस सांसद् मीनबहादुर विश्वकर्माले गर्भनर अधिकारीले नेपाल श्रीलंकाकाे बाटाेमा जाँदैछ भनेर सबैतिर आतकं फैलाएकाे आराेप लगाउनुभयाे । गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा आफैंले सार्वजनिक मञ्चबाट नेपाल अब श्रीलंका हुन्छ आतंक फैलाएको गम्भीर आराेप विश्वकर्माले लगाउनुभयाे । 'रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ, यो बन्द गरिनुपर्छ, अन्यथा जनताले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ, गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहरुलाई आतंकित नगराउन रुलिङ हुनुपर्छ'-विश्वकर्माकाे माग छ ।
श्रीलंका अप्ठ्याराे अवस्थामा रहेकाे श्रीलंकालाई सान्तत्वना दिनुपर्नेमा जिम्मेवारी व्यक्तिबाटै मानमर्दन भएकाे पनि सांसद् विश्वकर्माकाे आराेप छ । 'एउटा देशको अर्थतन्त्र कमजोर हुँदा, मित्र राष्ट्रले शान्तत्वना दिनुपर्नेमा श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भनेर त्यो देशकाे खिल्ली उडाउन मिल्छ ? हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ?'- उहाँकाे प्रश्न छ ।
प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै कांग्रेसकै अर्का सांसद् महामन्त्री गगन थापाले उच्च ओहदाका व्यक्ति कुनै राजनीतिक दलको सदस्य बन्न नहुने बताउनुभयाे । माैद्रिक नीति ल्याउँदा अहिलेकाे अवस्थालाई हेरेर ल्याउनुपर्ने थापाकाे सुझाव छ । 'मैले गरेकाे याे सबै अनुराेध नेपाल राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारीलाई हाे, एमालेका अर्थ याेजना विभागका सदस्य एम अधिकारीलाई हाे भनेर बुझ्नुभए माफी चाहान्छु' - थापाकाे कटाक्ष छ ।
विशेष समयमा बाेल्दै नेकपा माओवादी केन्द्रका सांसद् रेखा शर्मा पनि महाप्रसाद अधिकारीमाथि प्रश्न उठाउनुभयाे । राष्ट्र बैंकजस्ताे संस्था दलीय राजनीतिमा मुछिनु दुखद भएकाे शर्माले बताउनुभयाे । एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी भएकाे कुरा उठेकाे भन्दै शर्माले यसबारे छानबिन गर्न माग गर्नुभयाे । 'देशको अर्थतन्त्र सम्हाल्नुपर्ने व्यक्ति पार्टीको सदस्य रहेको कुरालाई गम्भीर ढंगले छानबिन गरियोस् र कारबाही गरियोस्'- शर्माकाे माग छ । गभर्नरले अर्थतन्त्र बिगार्न खाेजेकाे आराेप समेत साहले लगाउनुभयाे ।
नेकपा माओवादी केन्द्रका सांसद् गजेन्द्र महतले गभर्नर महाप्रसाद अधिकारीलाई एमाले अध्यक्ष ओलीसँग जाेड्दै अमर्यादित टिप्पणी गर्नुभएकाे छ । प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद् महतले गभर्नर अधिकारीले बार्दलीका हनुमान भएका आराेप लगाउनुभयाे ।
'मलाई शंका लागिरहेको थियो, एकजना बार्दलीमा बसेर यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए, एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए, यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो नभन्दै यिनी बा र छोरा रहेछन्, बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्थ्यो, नभन्दै यी हनुमान रहेछन्'- महतकाे आराेप छ । द्वापर युगमा हनुमानले श्रीलंका जलाएका र अहिले पनि श्रीलंका जलिराखेको बताउँदै महतले भन्नुभयाे - 'नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ यिनले, सरकारलाई भन्नुस् यिनलाई बाँधेर राख्नु पर्यो, नत्र यिनले नेपाल जलाउँछन् ।'
माओवादीकै सांसद् अमृता थापाले पनि गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गर्नुभयाे । प्रतिपक्षीकाे हटका कारण अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपरेकाे आराेप समेत थापाले लगाउनुभया् ।
एकीकृत समाजवादीकी सांसद् अञ्जना बिशंखेले महाप्रसाद अधिकारी र एम अधिकारी एउटै भएकाे तथ्य भेटिएकाे भन्दै आपत्ति जनाउनुभयाे । राष्ट्र बैंक एेन अनुसार गभर्नर कुनै पार्टीकाे हुन नसक्ने उल्लेख गरेकाे बताउनुभयाे ।
