काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको संघीय संसद् सचिवालयले जनाएकाे छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार दिउँसो साढे १ बजे सूची प्रकाशन गरिने संसद् सचिवालयले जनाएकाे छ ।
नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको चुनाव असार ३१ गते हुने तय भएकाे छ ।असार ३१ गते दिउँसाे ३ बजे प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद ०७६ माघदेखि रिक्त छ । प्रतिनिधि सभाकाे कार्यकाल केही महिनामै सकिन लाग्दा उपसभामुखकाे चुनाव गर्न लागिएकाे हाे ।
नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख छ। अहिलेका सभामुख सापकोटा माओवादी केन्द्रबाट हुनुहुन्छ ।
गठबन्धनबाटै उपसभामुख चयन हुन सक्ने देखिन्छ । उपसभामुखमा नेपाली कांग्रेस र एकीकृत समाजवादी दाबी गरिरहेका छन् । यद्यपि उपसभामुख कांग्रेसलाई दिने माेटामाेटी सहमति गठबन्धनभित्र भइसकेकाे बताइएकाे छ ।
