काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गठबन्धन सरकारले संसदीय मूल्य र मान्यता नै मिचेर काम गरेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बाल्दै सत्तारुढ दलकै नेता श्रेष्ठले आफू गठबन्धनको जिम्मेवार नेताको हैसियतमा रहेर यस्तो कुरा गर्नुपर्दा दुःख लागेको बताउनुभयो । केपी ओली नेतृत्वको एमाले सरकारले ल्याए जस्तै संवैधानिक परिषद् ऐन संशोधन विधेयक ल्याएर सरकारले संसदीय विधि, मूल्य, मान्यता र पद्धति मिचेको उहाँले आरोप लगाउनुभयो । ‘संविधान परिषद् ऐन संशोधन विधेयक कसरी आउन सक्यो हाम्रो पार्टीबाट ? तत्कालीन प्रधानमन्त्री केपी ओलीले अध्यादेशको रूपमा यो लिएर आउँदा खेरी, यही सार तत्त्वको अध्यादेश लिएर आउँदा खेरी हामीले विरोध गर्यौँ’, श्रेष्ठले स्मरण गर्नुभयो । विगतमा अहिले ल्याउन लागेको जस्तै विधेयक ल्याउँदा कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर विरोध जनाएको उहाँले बताउनुभयो । ‘डबल स्टयन्डर कहिलेसम्म हाम्रो देशमा ? सरकारमा हुँदा एउटा कुरा, आफूलाई चाहिँदा अर्को कुरा गर्न मिल्छ भन्या ?’, उहाँले प्रश्न गर्नुभयो । उहाँले सो कुरा कुनै पनि हालतमा स्विकार्न नसकिने बताउनुभयो । सरकालाई सो विधेयक तत्काल फिर्ता गर्न उहाँले सुझाव दिनुभयो । सरकारले नागरिकता विधेयक फिर्ता लिएकोमा पनि उहाँले आलोचना गर्नुभयो । विधेयकमा भएका कमजोरी सच्याएर पास गर्न सकिनेमा विधेयक नै फिर्ता लिएको उहाँले बताउनुभयो । राज्य व्यवस्था समितिको बहुमतले संसदमा पठाएको विधेयक फिर्ता लिएर सरकारले संसदीय मूल्य मान्यता मिचेको उहाँको दाबी छ । ‘यसरी संसदीय मर्यादा र लोकतान्त्रिक विधिको कार्यान्वयन कसरी हुन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
नारायणकाजी श्रेष्ठद्वारा सरकारको आलोचना : संसदीय मूल्य र मान्यता नै मिचियो
काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गठबन्धन सरकारले संसदीय मूल्य र मान्यता नै मिचेर काम गरेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा...
SUNRISE KHABAR
1 min read
