काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति आफूले पाउनुपर्ने माग गरेको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर एमाले सांसद् राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराउनुभयाे ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्न सभापति भरतकुमार शाहलाई समय दिएपछि एमालेका सांसद्ले उठेर विराेध गरे । त्यसपछि सभामुखले एमाले सांसद् तथा लेखा समिति सदस्य राजेन्द्र गौतमलाई बाेल्न समय दिनुभयाे ।
सांसद् गाैतमले अहिलेसम्मकाे अभ्यास परम्परा र मूल्य तथा मान्यता अनुसार लेखा समितिकाे नेतृत्व विपक्षी दलले गरिरहेकाे देखिएकाे बताउनुभयाे । तर गठबन्धन सरकारले १ वर्ष बित्दा पनि साे समितिकाे सभापति गठबन्धनले आफूसँगै राखेकाे भन्दै कडा आपत्ति जनाउनुभयाे ।
समितिमा सरकारकाे छायाँ देखिएकाे उहाँले बताउनुभयाे । संसदीय अभ्यासविपरीत सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सांसद्ले लेखा समितिको सभापति पद नछोडेको सांसद् गाैतमले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'अहिलेसम्म हाम्रो अभ्यास, परम्परा र मूल्य र मान्यताको हिसाबले पनि सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दलले गर्दै आएको अभ्यास छ,तर गठबन्धन सरकार बनेको १ वर्ष बित्दा पनि लेखा समितिको नेतृत्वमा सरकारको छायाँ देखिराछाैं,देशमा यत्राे बेथिति, अनियमितता, मलकाे हाहाकार, यस्ता धेरै जटिल मुद्दा आर्थिक अनियमिततासँग जाेडिएका राष्ट्रिय महत्वका मुद्दाहरुमा देश बहसमा हुँदा पनि लेखा समिति र यसकाे नेतृत्व कर्तव्यविमुख सरकारकाे लाचार छाया भएर केही काम गर्न नसक्ने परिस्थिति निर्माण भयाे ।'
यस विषयमा सभामुख र राजनीतिक नेतृत्वकाे पटकपटक ध्यानाकर्षण गराइएकाे भन्दै सांसद् गाैतमले तर अहिलेसम्म आफूहरुकाे मागकाे सुनुवाइ नभएकाे बताउनुभयाे ।खर्च पनि सरकारले नै गर्ने र परीक्षण पनि उसले नै गर्ने कस्तो अभ्यास गरिरहेका छाैं भन्ने प्रश्न पनि उहाँले उठाउनुभयाे ।
'१ वर्षसम्म हामीले पर्खेर हेर्याैं हामीले कस्ताे खालकाे लाेकतन्त्रकाे अभ्यास गर्न खाेजिरहेका छाैं ? कस्ताे खालकाे प्रजातन्त्रकाे अभ्यास गर्न खाेजिरहेका छाैं ? तर आज लेखा समितिमा सरकारकाे छायाँ देखियाे,त्यही सरकारले खर्च गर्ने र उसैले परीक्षण गर्न सक्ने परिस्थिति कसरी निर्माण हुन गयाे ? संसदीय अध्यासलाई हेर्ने हाे भने लेखा समितिकाे नेतृत्व प्रमुख प्रतिपक्षले पाउने परम्परा छ, यसमा सम्माननीय सभामुखजीकाे के राय छ ? सदनले जानकारी पाउनुपर्याे'- गाैतमले बताउनुभयाे ।
तत्काल समितिकाे नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिनुपर्ने माग गर्दै सांसद् गाैतमले यस विषयमा रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयाे ।
