काठमाडाैं । नेकपा एमालेकी सांसद् पद्मा अर्यालले नागरिकता राष्ट्रियतासँग जाेडिएकाे विषय भएकाले संवेदनशील हुनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिकाे छलफलमा भाग लिँदै सांसद् अर्यालले विदेशी बुहारीको चिन्ता गर्दा आफ्नो सन्तानप्रतिको कर्तव्यलाई नबिर्सन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । विधेयकमा उल्लेखित कतिपय प्रावधानमा अत्यन्तै संवेदनशील र गम्भीर हुनुपर्ने उहाँकाे सुझाव छ ।
विदेशी बुहारीको प्रावधानमा सरकार संवेदनशील र गम्भीर हुनुपर्ने भन्दै सांसद् अर्यालले नाम यतै भए निशान पनि यतै हुनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नागरिक राष्ट्रियतासँग जोडिएको विषय हो, यहाँ जे अधिकार छ त्यो अन्य मुलुकमा पनि छ कि छैन हेर्नुपर्छ र त्यसको आधारमा निष्कर्षमा पुग्नुपर्छ, नागरिकता प्राप्त गर्नेको नाम र निशान यही हुनुपर्छ, नाम यता निशान अर्को देशमा हुनुहुँदैन ।'
बैवाहिक अंगीकृतमा समानताको हक स्थापित हुनुपर्छ भनेर विगतमा छलफल भएको स्मरण गर्दै 'आज विदेशी चेली नेपालको बुहारी हुँदा नागरिकता प्राप्त गर्छ भने हाम्राे नेपाली छोरी विदेशी बुहारी हुँदा लामो समय पर्खिनुपर्छ, हाम्रै छिमेकी मुलुकमा ७ वर्ष कुर्नुपर्छ, प्रक्रिया पूरा गर्दा ८-९ वर्ष लाग्छ, हामी बुहारीको बारेमा यति चिन्तित छौं, नेपालको छोरी चेलीको बारेमा हामी चिन्तित हुनुपर्छ कि पर्दैन ? आफ्नो सन्तानप्रतिको दायित्व पूरा गर्नुपर्छ कि पर्दैन ?'
समानताका हिसाबले हिजाे पनि याे विषयमा छलफल भएकाे भन्दै सांसद् अर्यालले आजपनि साे विषयमा छलफल हुनुपर्ने बताउनुभयाे । सन्तानप्रतिकाे उत्तरदायित्व पूरा गर्ने हिसाबले विधेयक अगाडि बढाउनुपर्ने उहाँकाे सुझाव छ ।
