काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले ल्याएकाे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ प्रति असन्तुष्टि जनाउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथिकाे छलफलमा भाग लिँदै सचेतक भुसालले विधेयकमा संवैधानिक व्यवस्थालाई समेत नसमेटिएकाे भन्दै असन्तुष्टि जनाउनुभयाे । आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी विधेयक ल्याएकाे उहाँकाे भनाइ छ ।
नेपालकाे संविधान ०७२ ले आमा वा बाबुकाे नामबाट सन्तानले नागरिकता पाउनुपर्ने भन्ने प्रावधान राखेकाे भन्दै सचेतक भुसालले त्याे कुरालाई विधेयकले नसमेटेकाे बताउनुभयाे ।
संविधानले बुबाको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट वंशजको नागरिकता दिने स्पष्ट व्यवस्था गरेकाे बताउँदै भुसालले भन्नुभयाे - 'तर अहिलेकाे विधेयकमा सन्तान र आमाले बाबु वेपत्ता भएकाे भनेर स्वघाेषणा गर्नुपर्ने प्रावधानले एउटा बच्चाकाे अधिकार र आमाकाे महिला अधिकारमाथि ठूलाे प्रश्नचिन्ह खडा भएकाे छ, कम्तीमा आमा र बालबालिकाको अधिकारलाई त्यो स्वाभिमानलाई बचाउनका लागि त्यो आवश्यक छ ।'
तेस्रो लिंगीले पनि नागरिकता पाउने अधिकारलाई संशोधन विधेयकले बेवास्ता गरेको भन्दै सचेतन भुसालले त्यसको स्पष्ट व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयाे । 'तेस्रो लिंगीले नागरिकता पाउने कुरालाई पनि यो संशोधन विधेयकले समेटन सकेको छैन, म यस सम्बन्धमा नेपाल सरकार गृहमन्त्रीजीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु'-भुसालकाे भन्नुभयाे ।
लाखाैं लाख नेपाली नागरिक नागरिकता नपाएर बसिरहेकाे अवस्था रहेकाे भन्दै उहाँले साे विधेयकलाई चाँडाे टुंगाेमा पुर्याउन सरकारकाे ध्यानाकर्षण पनि गराउनुभयाे । नागरिकता व्यक्तिकाे पहिचान,अधिकार र राष्ट्रियता जाेडिएकाे विषय रहेकाे सचेतक भुसालले बताउनुभयाे ।
