काठमाडाैं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि प्रक्रिया सुरु भएकाे छ ।
करिब साढे २ वर्षपछि उपसभामुख चयन गर्न प्रक्रिया सुरु गरिएकाे हाे । उपसभामुखका लागि सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिनुभएकाे छ ।
भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद् कृष्णभक्त पोखरेल हुनुहुन्छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा हाल दुई सय ७१ सांसद् छन् । जसमा सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् । एमालेका ९८ जना सांसद छन् । गठबन्धनकाे बहुमत भएकाले भुसालले जित्ने निश्चित छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ०७६ माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छैन । करिब साढे २ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाउन लागेकाे हाे ।
