काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान अनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने बताएकाे छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विद्या भट्टराईलाई उपसभामुख प्रस्ताव गर्दै एमाले सचेतक शान्ता चौधरीले संवैधानिक व्यवस्थाको हिसाबले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताउनुभयाे ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाे भन्दै चाैधरीले सभामुख र उपसभामुख भागवण्डा गरेर लिन गठबन्धनलाई नैतिकताले नदिने बताउनुभयाे ।
'नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनेगरी गर्नुपर्छ र फरक-फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ, अहिले गठबन्धनको सरकार भएकाले गठबन्धनकै दुई घटकले सभामुख र उपसभामुख संवैधानिक र नैतिक हिसाबले अनुचित देखिन्छ, अहिले हुन लागेको उपसभामुखको चुनावमा प्रतिपक्ष दलको स्वभाविक दाबी रहन्छ'-उहाँकाे भनाइ छ ।
संसदीय प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन र संसदीय अभ्यासलाई सन्तुलनमा राख्न पनि एमालेको उम्मेदवारलाई उपसभामुख बनाउन आवश्यक रहेको उहाँले बताउनुभयाे । प्रमुख प्रतिपक्षसँग सद्भाव कायम गर्ने अवसर सरकारसँग रहेकाे पनि शान्ताले बताउनुभयाे ।
सांसद् चाैधरीले प्रतिनिधि सभाकाे लेखा समितिकाे सभापति प्रमुख प्रतिपक्षलाई दिन पनि उहाँले माग गर्नुभयाे ।
