काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् राजेन्द्र लिङ्देनले उपसभामुख पदमा प्रतिपक्षको हक हुने बताउनुभएकाे छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधि सभा बैठकमा बाेल्दै राप्रपा अध्यक्ष समेत रहनुभएका सांसद् लिङ्देनले उपसभामुख प्रतिपक्षकाे हककाे कुरा भएकाे बताउनुभयाे । उपसभामुखमा राप्रपाले सत्ता पक्षलाई समर्थन गर्न नसक्ने उहाँले बताउनुभयाे ।
सत्तापक्षले सल्लाह गरेर उदारतापूर्वक उपसभामु प्रतिपक्षलाई दिनुपर्ने सांसद् लिङ्देनकाे सुझाव छ । 'संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भनिएको छ, यसको मनोभावना भनेको सभामुख सत्तापक्षकाे हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्ने हो, त्यसैले उपसभामुख पनि सत्तापक्षले नै लिन खोज्ने कुरामा हामी सहमत हुन सक्दैनौं, संवैधानिक व्यवस्थालाई कुनै तर्क र बहानाको आडमा गलत व्याख्या गरिए संविधान मिच्ने क्रम अझै बढ्छ'- उहाँले भन्नुभयाे ।
सैद्धान्तिक रुपमा उपसभामुख प्रतिपक्षीको हक भएकाले सत्तापक्षका उम्मेदवारलाई समर्थन गर्न नसकिने बताउँदै सांसद् लिङ्देनले भन्नुभयाे- 'उपसभामुख प्रतिपक्षकाे हककाे कुरा हाे,त्यसैले राप्रपाले सत्ता पक्षलाई समर्थन गर्न नसक्ने जानकारी गराउँछु ।'
उपसभामुखमा सत्ता गठबन्धनले कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । अहिले मत विभाजनकाे प्रक्रिया सुरु भएकाे छ ।
