काठमाडाैं । उपसभामुखमा पुष्पा भुसाल निर्वाचित हुनुभएकाे छ ।
शुक्रबारकाे प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि भएकाे मतदानमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार भुसाल निर्वाचित हुनुभएकाे हाे । बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले भुसाल १ सय ४८ मत ल्याएर उपसभामुखमा निर्वाचित हुनुभएकाे घाेषणा गर्नुभयाे ।
कुल २ सय ४२ सांसद् मतदानमा उपस्थित भएकाेमा भुसालकाे पक्षमा १ सय ४८ मत परेकाे हाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईकाे पक्षमा ९३ मत पर्याे । मत दिन्न भन्ने पक्षमा १ मत परेकाे सभामुख सापकाेटाले घाेषणा गर्नुभयाे ।
भुसाललाई गठबन्धनमा आबद्ध ५ दलसहित लाेसपाकाे समेत समर्थन थियाे ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ०७६ माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधि सभामा उपसभामुख पद खाली थियाे । त्यतिबेला भुसाल शिवमायासँग उपसभामुखमा पराजित हुनुभएकाे थियाे । करिब साढे २ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएकाे हाे ।
उपसभामुख चयन गरेसँगै प्रतिनिधि सभाकाे बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएकाे छ ।
