काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
शुक्रबार उपसभामुखमा निर्वाचित भएलगत्ते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुख भुसालले सदनलाई प्रभावकारी बनाउनका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
'संविधान कार्यान्वयन, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामलाई व्यवस्थापन गर्न, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउन, मुलुकको आर्थिक समृद्धिको लागि सदनमा एउटा तटस्थताको भूमिकालाई निर्वाह गर्न जुन जिम्मेवारी थपिएको छ, त्यसलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु'-भुसालकाे भनाइ छ ।
लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा चुनाव भएकाे र प्रतिनिधि सभाकाे सबै पदले पूर्णता पाएको बताउनुभयाे । प्रतिनिधि सभाका सबै पदले पूर्णता पाउनु संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुशीको दिन उपसभामुख भुसालले बताउनुभयो ।
संवैधानिक परिषद्को सदस्यको रुपमा समेत आफूले इमान्दारीपूर्वक र समन्वयनकारी तवरले भूमिका निर्वाह गर्ने दाबी पनि उहाँले गर्नुभयाे । 'उपसभामुखलाई संवैधानिक परिषद्को एउटा सदस्यको रुपमा राखिएको छ, जुन अपेक्षा संविधानले संवैधानिक परिषद्सँग गरेको छ त्यसमा आफ्नो भूमिका निर्वाह गर्नका लागि मैले इमान्दारीपूर्वक नै प्रभावकारी ढंगबाटै समन्वयकारी भूमिका निर्वाह गर्नेछु'-उहाँले भन्नुभयाे ।
आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई उपसभामुख भुसालले धन्यवाद दिनुभयाे ।
