काठमाडाैं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गठबन्धन सरकारले गरेका गलत कामहरुको बहिखाता नै तयार भएकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्द उपनेता नेम्वाङले गठबन्धन सरकारले गरेका गलत कामहरुको बहिखाता नै तयार भएको भन्दै आगामी चुनावमा जनतालाई हिसाबकिताब बुझाउने बताउनुभयाे ।
सरकारले गलत गरेका धेरै कामहरु रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको समेत उहाँले बताउनुभयो । उपनेता नेम्वाङले भन्नुभयाे - 'अब जनतामा जाने बेला आएकाे छ,बहिखाता लिएर जनतामाझ जानुपर्छ,हिसाबकिताब बुझाउनुपर्छ,हामीसँग त याे गठबन्धनकाे यति थुप्रै हिसाबकिताब छन्, यति धेरै इस्यु छन्, कुन इस्यु जनताकाे बीचमा राख्ने भन्ने पाे समस्या छ ।'
एमाले नेतृत्वकाे सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा विराेध गर्नेहरुले आज साेही अध्यादेश ल्याउनु गलत भएकाे समेत उपनेता नेम्वाङले बताउनुभयाे । सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे विषयलाई उचालेर गठबन्धनले गलत गरेकाे समेत उहाँले बताउनुभयाे । - 'संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउँदा त्यतिबेला उहाँहरुले भनेकाे हाेइन अब आकाश खस्छ,देश प्रतिगमनमा गयाे, याे त निरंकुशता हाे भनेर प्रश्न उठाएकाे हाेइन र ? हाम्राे सभामुखले विभिन्न प्रश्न उठाएर मुद्दा हालेकाे हाेइन र ? अहिले त्याे मुद्दा सर्वाेच्चमा विचाराधीन छ, विचाराधीन भएकै बेलामा,याे प्रश्न सबै जिउँदै भएकाे बेलामा,स्वयंम सभामुखजी उहाँ नै भएकै बेलामा,त्यही शक्तिले गठबन्धन सरकारका नाममा कसरी विधेयक ल्याएर राष्ट्रिय सभामा प्रवेश गराएकाे छ,यस्ता त कति छन् कति सरकारका गलत काम ।'
नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङले प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनाव समयमा नै हुनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'समयमा निर्वाचन हुनुपर्छ,निर्वाचन निष्पक्ष हुनुपर्छ,जनताले आफ्नाे कुरा भयरहित ढंगले भन्न पाउनुपर्छ, देशमा बेठिक भइरहेकाे छ भने हामी समय त्याे बेठिकलाई सच्चाउन लाग्नुपर्छ ।'
अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहाना राखेको बताउँदै उपनेता नेम्वाङले भन्नुभयाे - '५ दलीय गठबन्धन गलत छ,किनभने दल विभाजन नभइ उहाँहरु गठबन्धनमा जानुभएकाे छ,गठबन्धन भत्कियाेस् भन्ने त हाम्राे चाहाना नै हाे ।'
एमालेलाई उपसभामुख भन्दा पनि अब चुनावकाे बढी चासाे भएकाे बताउँदै नेम्वङले भन्नुभयाे - 'ढिलै भए पनि छोरी उपसभामुख भयो, खुशी लागेको छ ।'
