काठमाडाैं । नेपाली कांग्रेसका सांसद् जितेन्द्रनारायण देवले विभिन्न शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् देवले एमसीसी र एसपीपीकाे सम्झाैताका नाममा विभिन्न शक्ति राष्ट्रले नेपाललाई खेल मैदान बनाउन लागेका बताउनुभयाे ।
एमसीसी र एसपीपी सम्झौताबारे अमेरिका र चीनले आफू अनुकुल बोल्नुले नेपाललाई खेल मैदान बनाउन खाेजेकाे प्रष्ट हुने उहाँले बताउनुभयाे । सांसद् देवले कुन विषयमा के गर्ने भन्ने कुरा नेपाल र नेपाली जनताकाे भएकाे बताउनुभयाे । 'एमसीसी पास गर्ने कि नगर्ने, कुन देशसँग ऋण लिने कि नलिने,कुन देशसँग अनुदान लिने,कुन देशसँग नलिने,कुन विषयमा कसरी जाने नेपाल सरकार र नेपाली जनताकाे विषय हाे,एमसीसी लिनु हुन्छकि हुँदैन,एसपीपीमा जानुहुन्छ कि हुँदैन, याे वा त्याे बहानामा प्लेइङ ग्राउण्ड बनाउनेतिर दुनियाँका शक्ति लागेका छन्'-उहाँले भन्नुभयाे ।
सार्वभाैमसत्ता सम्पन्न नेपाललाई कुनैपनि शक्ति राष्ट्रको खेल मैदान बनाउन नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुले ध्यान दिनुपर्ने बताउनुभयाे । 'नेपाललाई प्लेइङ ग्राउण्ड बनाउनतिर दुनियाँकाे शक्ति केन्द्रित भएकाे छ,नेपाल यी शक्ति राष्ट्रहरुकाे प्लेइङ ग्राउण्ड नबनाेस् र खुला रुपमा स्पष्ट रुपमा नेपाल सरकार, म राजनीतक दल र दलकाे शीर्ष नेताकाे ध्यानाकर्षण गराउन चाहान्छु, नेपाली जनता र राजनीतिक पार्टीले भनाेस् - नेपालकाे कुनैपनि विषयमा निर्णय लिने अधिकार नेपाली जनताकाे हाे,तिमीहरु बाेल्न पाउँदैनाैं,तिमीहरु बाेल्याे कि हाम्राे आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर भन्न सक्नुपर्याे'- उहाँले भन्नुभयाे ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणले दुई देशका पार्टी-पार्टी बीचको सम्बन्ध राम्रो बनाएको दाबी समेत सांसद् देवले गर्नुभयाे । देशशको भू-राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार-सरकार र जनता-जनताको स्तरमा मात्र नभइ पार्टी-पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको उहाँकाे भनाइ छ ।
