काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षाअनुरुप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ ।
उक्त समितिको आजको बैठकले महिलाको समग्र हित प्रवर्द्धन गर्ने उद्देश्यमा केन्द्रित भई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।
आयोगले महिला हकहित प्रवर्द्धन गर्न प्रयत्न गरिरहेका विभिन्न निकायहरुसँग सम्पर्क, समन्वय बढाइ एकीकृत पहल गर्नसमेत नसकेको भन्दै आगामी दिनमा प्रभावकारी सहकार्य गर्न पनि समितिले आग्रह गरेको छ ।
साथै, महिला आयोग आफैंभित्र पनि समन्वय र सहकार्य गर्न नसकेको कारण प्रभावकारी कार्यसम्पादन हुन नसकेको र सम्पर्कमा आएका पीडित महिलाले आवश्यक न्यूनतम सहयोगसमेत प्राप्त गर्न नसक्नु दुःखको विषय रहेको समितिको ठहर छ ।
बैठकमा सांसद नारायणप्रसाद खतिवडा, विमला नेपाली, गङ्गा चौधरी, अमृता थापा, कृष्णबहादुर राईले आवश्यकताको हिसाबले राष्ट्रिय महिला आयोय अन्य आयोगभन्दा बढी महत्वपूर्ण रहेको हुनाले योजनाबद्ध तरिकाले आफ्नो कार्यसम्पादन गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विसं २०७८ साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्म महिलामाथि भएका विभिन्न हिंसाका एक हजार ४६४ घटना दर्ता भएको जानकारी गराउनुभएको थियो ।
जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट घरेलु र महिला हिंसाका गरी एक हजार २७६ वटा घटना रहेका छन् ।
–रासस
