काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा उहाँले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भन्नुभयो ।
अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सुशासनका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउनुभएको थियो सदस्य उदयबहादुर बोहराले कृषि प्रधान देश नेपालले केही दशक अगाडि खाद्य वस्तु निर्यात गर्ने गरेकामा अहिले अधिकांश वस्तु आयात गर्नुपर्ने स्थिति दुःखद भएको भएको बताउनुभयो ।
सदस्य विमला राईले बजेट निर्माणका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । सदस्य महेश महराले अर्थतन्त्रमा संकुचन आइरहेको बेला विशिष्ट व्यक्ति तथा उच्च तहका कर्मचारीहरुको सरकारी सुविधा कटौती गर्न माग गर्नुभयो ।
बैठकको शून्य समयमा सदस्य नरबहादुर विष्ट काठमाडौँ महानगरपालिकाको फुटपाथका व्यापारीलाई करको दायरामा ल्याएर व्यवसाय गर्न दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकको शून्य समयमा सदस्यहरु भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर लगायतले बेरुजुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
–रासस
