काठमाडाैं । नेकपा एमालेकी सांसद् निरुदेवी पालले मजगाउँ विमानस्थलको जग्गा नेपाली सेनाबाट फिर्ता ल्याउन सरकारसँग माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बोल्दै सांसद् पालले साे विमानस्थलकाे जग्गा ०७५ देखि सेनाले आफ्नाे नाममा गराएर लागपूर्जा समेत लिएकाे पाइएकाे भन्दै आपत्ति जनाउनुभयाे । सेनाले कब्जा गरेकाे जग्गा फिर्ता लिएर तत्काल साे विमानस्थल पुन: सञ्चालन गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयाे ।
०२४ सालमा सञ्चालनमा आएकाे विमानस्थल २०५६ सालसम्म काठमाडाैं र सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान भर्दै आइरहेकाेमा ०५८ सालमा संकटकालका बेला सेनालाई संरक्षण गर्न दिइएकाे उहाँले स्मरण गराउनुभयाे ।
सांसद् पालले भन्नुभयाे - '०५८ सालमा संकटकालका बेला स्थानीय गाउँलेकाे अतिक्रमण राेक्न विमानस्थलकाे केही जग्गा नेपाली सेना र रत्न बाटिकाले संरक्षण गर्ने र विमानस्थललाई आवश्यक परेका बेला उपलब्ध गराउनेगरी जिम्मा दिइएकाे थियाे, तर नेपाली सेनाले ०७५ सालमा नागरिक उड्यन प्राधिकरणसँग पनि समन्वय नगरी भित्रभित्रै पूर्जा उठाएर जग्गा कब्जा गरेकाे देखिन्छ ।'
उहाँले ५१ साल जेठ ९ र ६१ जेठ ९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार शुक्लाफाँट राष्ट्रिय निकुञ्जकाे चार किल्ला सिमाना अनुसार राष्ट्रिय निकुञ्जकाे मुख्य गेट पछि विमानस्थलकाे क्षेत्र भएकाे उल्लेख भएकाे तर अहिले साे क्षेत्रकाे केही भाग रत्नबाटिका र सेनाकाे चण्डिदल गणले ०७५ मंसिर २७ गते आफ्नाे नाममा नापी गराइ दर्ता गरेकाे देखिएकाे बताउनुभयाे । रत्नबाटिका जग्गा फिर्ता गर्न तयार भएपनि नेपाली सेनाले नमानेकाे सांसद् पालले बताउनुभयाे ।
सबैकाे दबाबमा साे विमानस्थल पुन: सञ्चालन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री भानुभक्त ढकाल रहेका बेला ०७७ फागुन ३ स्थानीय प्रदेश र प्राधिकरणबीच एमओयु भएकाे सांसद् पालले स्मरण गराउनुभयाे । काम सुरु भएकै बेला कामदारलाई राेक्ने काम भएर फेरि काम सुचार भएकाे भन्दै उहाँले फेरि काम राेकिएकाे भन्दै तत्काल काम थाल्न सरकारसँग माग गर्नुभयाे ।
विमानस्थलकाे जग्गा सेनाबाट फिर्ता लिएर विमानस्थलकै नाममा कायम गर्न र साे विमानस्थल तत्काल पुन: सञ्चालन गर्न सरकारसँग माग गर्नुभयाे ।
