काठमाडाैं । नेकपा एमालेका सांसद् भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने पत्र नपठाइएको भन्दै सरकारलाई रुलिङ गर्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् रावलले एसपीपीमा सहभागी नहुने निर्णय भएपनि सरकारले अमेरिकालाई पत्र नपठाएकाे भन्दै सभामुखलाई तत्काल रुलिङ गर्न माग गर्नुभयाे ।
गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी सदनलाई गराइसकेको भन्दै उहाँले सदनमार्फत सरकारलाई रुलिङ गर्न सभामुखसँग पटक-पटक माग गर्नुभयाे । मन्त्रिपरिषद्ले समेत एसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै सांसद् रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयाे ।
बैठकमा सभामुखको अध्यक्षता गर्नुभएकी सत्या पहाडीले साे विषयमा ध्यानाकर्षण भएको भन्दै रावलाई बस्न अनुराेध गर्नुभयाे । तर रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राख्नुभयो ।
सो क्रममा केही सांसद्ले नियमापत्ति समेत गरे । लगत्तै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउनुभयाे । बिषयान्तर नगर्न उहाँले आग्रह पनि गर्नुभयो । तर रावलले एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहाेर्याउनुभयाे । याे सिंगाे देशकाे विषय भएकाे भन्दै उहाँ राेष्ट्रममै उभिनुभयाे ।
त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो । १५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधि सभाकाे दाेस्राे बैठक भने अहिले जारी छ ।
