काठमाडाैं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले बिहीबार शर्मासँग छलफल गर्ने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशबारे समाचार लेख्ने दुई पत्रकारसँग छलफल गरेको छ । समितिले अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग छलफल गरेकाे हाे ।
बिहीबार शर्मासँग छलफल गर्ने निर्णय भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । समितिले शर्मालाई बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन भनेको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेकाे आराेप शर्मामाथि लागेकाे छ ।
बैठकमा समितिकाे म्याद केही दिन थप्ने बिषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । समिति गठन गरिएको बिहीबार १० दिन पूरा हुन्छ । समितिले छानविनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप्नका लागि सभामुख अग्निप्रसाद सापकाेटासँग आग्रह तयारी गरेको छ ।
