काठमाडाैं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले आज शर्मासँग साेधपुछ गर्दैछ ।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेकाे र बजेट निर्माणकाे अघिल्लाे दिनकाे सीसीटिभी फुटेज डिलिट भएकाे विषयमा समितिले शर्मासँग बयान लिन लागेकाे हाे । समिति सचिव सुरेन्द्र अर्यालका अनुसार शर्मालाई बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन भनिएकाे छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेकाे आराेप लागेपछि शर्माले असार २२ गते राजीनामा दिनुभएकाे थियाे । शर्माले राजीनामा दिनुअघि साेही दिन प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेकाे थियाे ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशबारे समाचार लेख्ने अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग छलफल गरेकाे थियाे ।
बैठकमा समितिकाे म्याद केही दिन थप्ने बिषयमा पनि छलफल भएको थियाे । समिति गठन गरिएको बिहीबार १० दिन पूरा हुन्छ । समितिलाई काम थालेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएकोमा साे कार्यादेश भने भाेलि सकिँदैछ । समितिले छानविनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप्नका लागि सभामुख सापकाेटासँग आग्रह तयारी गरेको छ ।
