काठमाडौं । नेकपा एमालेका सांसद् महेश बस्नेतले एमालेको अर्थ विभागका सदस्य एम अधिकारी खाेज्नेहरुलाई कडा जवाफ दिनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही हुनुपर्ने बताउनुभयाे ।
देशी-विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री बनेर राज्यको दोहोन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा (शेरबहादुर देउवा), माओवादी नेता पी दाहाल (प्रचण्ड) र नेतृ ए राणा देउवा (आरजु राणा) लाई खोजेर कारबाही गर्नु पर्ने हैन र ? भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'एम. अधिकारीहरू खोजिरहेका छन्, देशी विदेशी शक्ति गुहार्न राष्ट्रपति र प्रधानमन्त्री पालोपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने एस. देउवा, पी. दाहाल र नेत्री ए. राणा देउवाहरूलाई कारबाही गर्नुपर्ने होइन र ?'
बजेटमा करको दर हेरफेर गरेको भन्दै पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई कारबाही गर्न पनि सांसद् बस्नेतले माग गर्नुभयाे । 'बजेटमा रातारात कर र भन्सारका दर गडबड गरेर, सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने, ६ अर्ब भन्दा बढी कमिशन खाने माओवादीका जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र ?'
पेट्रोलियम पदार्थको भाउ, महंगी र कालो बजारीलाई प्रत्सोहन गर्ने डी बडू (दिलेन्द्र प्रसाद बडू) लाई समेत कारबाही गरिनुपर्ने सांसद् बस्नेतकाे माग छ । 'पेट्रोलियम पदार्थको भाउ बढाउने, कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री डी. बडूलाई कारबाही गर्नुपर्ने होइन र ?'-बस्नेतकाे प्रश्न छ ।
मल र पाठ्यपुस्तक अभाव गरेर किसान र विद्यार्थीकाे भविष्यमाथि खेलवाड गर्ने एम यादव (महिन्द्रराय यादव) र डी पौडेल (देवेन्द्र पौडेल)लाई कारबाही गर्नुपर्ने हाेइन र भन्ने प्रश्न पनि उहाँले गर्नुभयाे ।
