काठमाडाैं । नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताका समस्या समाधान गर्न उत्तरदायी नबनेको बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बोल्दै सांसद् ज्ञवालीले जनता महंगीकाे मारमा पर्दा समेत सरकारले केही गर्न नसकेकाे बताउनुभयाे । जनतालाई महंगीकाे भारी बाेकाउने,किसानलाई मल उपलब्ध नगराउने,विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएकाे उहाँले बताउनुभयाे ।
सरकारको गैरजिम्मेवारपनले नागरिकलाई आहत तुल्याएको भन्दै उहाँले नागरिकको समस्या समाधान गर्ने गरेर बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो ।
जनजिविकाका सवालमा कुरा उठाउँदा उल्टै खिल्ली उडाउने काम भएकाे समेत सांसद् ज्ञवालीले बताउनुभयाे । आफूले केही वर्षअघि अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएकोमा उहाँले आपत्ति जनाउनुभयाे । सांसद् ज्ञवालीले भन्नुभयाे - 'मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनुभएछ, त्यसो गरेर उहाँहरूको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।'
केही दिनअघि एउटा कार्यक्रममा सांसद ज्ञवालीले आफू पूर्वमन्त्री भइसकेकाे र अहिले सांसद हुँदा पनि महंमागीका कारण भान्सा दुई थरी तरकारी पाक्न गाह्राे भएकाे बताउनुभएकाे थियाे । त्यसकाे केही समयपछि ज्ञवालीकाे फाेटाे भाइरल बनाइएकाे थियाे । गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै उहाँले सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो भन्दै प्रश्न गर्नुभयो ।
