काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राख्नुभएकाे समितिकाे म्याद थपसम्बन्धी प्रस्ताव बैठकबाट अनुमोदन भएको हो ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेकाे आराेप लागेपछि शर्माले असार २२ गते राजीनामा दिनुभएकाे थियाे । शर्माले राजीनामा दिनुअघि साेही दिन प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेकाे थियाे ।
समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन १० दिनको म्याद दिइएको थियो । साे समय आज सकिएकाे छ । समितिले शर्मासहित सम्बन्धित सरोकारवालासँग बयान लिने काम सकिसकेको छ ।
तर महत्वपूर्ण प्रमाणका रुपमा रहेको सिसिटिभी फुटेज नै डिलिट भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट रिकभर गर्न समय लाग्ने भएपछि समितिले म्याद थपका लागि प्रतिनिधि सभालाई लेखि पठाएको थियो । साेही अनुसार म्याद थप भएकाे हाे ।
