काठमाडाैं । नेकपा एमालेका सांसद् भीम रावलले नागरिकताजस्ताे संवेदनशील विषयमा सरकारले छल गरेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
प्रतिनिधि सभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद् रावलले नागरिकता जस्ताे संवेदनशील विषयमा छल गर्नु निन्दनीय भएकाे बताउनुभयाे ।
देशकाे दीर्घकालीन अस्तित्वसँग गाँसिएकाे नागरिकताजस्ताे विषयलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लाेकतन्त्रकाे उपहास,निरंकुशता र राष्ट्रियताकाे खेलवाड भएकाे उहाँकाे भनाइ छ ।
सांसद् रावलले संसारमा नागरिकता कहिँपनि खुकुलाे नभएकाे भन्दै यस विषयमा गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । संविधान बनाउने बेला अंगिकृत नागरिकताबारे भएकाे सहमतिकाे उल्लंघन भएकाे उहाँले बताउनुभयाे ।
नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेका निश्चित अवधि अर्थात ५-७ वर्षमा छलफल भएकाे र राज्य व्यवस्था समितिले निर्णय गरी राखेकाे ७ वर्षकाे प्रावधान हटाउनु सहमतिकाे धज्जी उडाउँदै राष्ट्रपति बेइमानी गरेकाे ठहर्ने र याे राजनैतिक अनैतिकतता सांसद् रावलले बताउनुभयाे ।
उहाँले प्रश्न गर्नुभयाे - 'वास्तविक नेपालीले नागरिकता सहजै पाउने र विदेशीले नपाउने व्यवस्था गर्न सरकार तयार नहुनु पछाडिकाे रहस्य के हाेला ?' सुरुमै कविताबाट सम्बाेधन थाल्नुभएका सांसद् रावलले देश हित विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराउनुभयाे । देशकाे हित भन्दा अर्काेतिर जाने के राेग लाग्याे मेराे देशलाई भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे । 'म सरकारलाई अनुराेध गर्न चाहान्छु - देशकाे हितबारे साेचाैं,सत्ता र पदमा काेही पनि व्यक्ति सधैं हुँदैन हेक्का राख्याैं ।'
यस्ताे छ रावलकाे कविता
छलफल हाे कि छल मात्र हाे याे हताराे किन हाे ?
खाेलेर आँखा देश हितका लागि राम्ररी सुन हाे ।
के तिमी सधैं सत्तामा हुन्छाैं देश भन्दा आयु छ ?
संवेदनाहीन बुझ्दैनाैं किन स्वाधिनता दाउमा छ
देशकाे रक्षा जनताकाे हित कर्तव्य राज्यकाे
रच्दछाैं किन बहाना गर्दै नाटक आज याे
खतरा किन निम्त्याउँछाैं किन देशकाे जीवनमा
के कुटील स्वार्थ राख्दछाैं सरकार भन न मनमा ।
