काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिकाे बैठकले स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । स्वास्थ्य बीमाका विषयमा धेरै समस्या देखिएकाे ठहर गर्दै ती समस्या समाधान गर्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकाे समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभयो ।
अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जादा धेरै समस्या झेल्नुपरेको भन्दै उहाँले यस्ता समस्या दीर्घकालिन रुपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिइएको बताउनुभयाे । सरकारी भन्दा पनि निजी अस्पतालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै समितिले एेन कानुनको व्यवस्था अनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ ।
बैठकले शहीद गंगालाल हृदय रोग केन्द्रमा अक्सिजिनेरेटरको अभाव भएका कारण शल्यक्रिया गर्न नै कठिन भएको गुनासो आएको भन्दै छिटो भन्दा छिटो आवश्यक मेशिनको व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति घर्तिले जानकारी दिनुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले चालु बजेटमा सरकारी र सामूदायिक स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बीमा लागू हुने उल्लेख भएकाले केही समस्या देखिएको बताउनुभयो । बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको उहाँकाे भनाइ छ ।अहिले देशभर कोभिड विरुद्धकाे खोप अभाव नभएको भन्दै मन्त्री खापुङले स्थानीय तहले पनि खोप अभियान सञ्चालन गर्न सक्रिय बन्नुपर्ने बताउनुभयाे ।
बैठकमा समिति सदस्यहरुले स्वास्थ्य बीमालाई थप प्रभावकारी र सहज बनाउन राज्य गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।
