काठमाडाैं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकबाट साे विवादास्पद विधेयक पारित भएकाे हाे । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्ताव ध्वनिमतका आधारमा बहुमतले पारित भएकाे घाेषणा सभामुख अग्निप्रसाद सापकाेटाले गर्नुभयाे ।
साे विधेयकमा ४५ जना सांसद् ९४ बुँदामा संशोधन दर्ता गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसद्ले नागरिकता ऐन खुकुलो भएको भन्दै अंगिकृतका लागि कम्तिमा ७ वर्षे प्रावधान राख्न माग गरेका थिए ।
साे प्रावधान नराखे लाखौंको संख्यामा विदेशीले नेपाली नागरिकता लिने र देशकाे अस्तित्व नै खतरामा पर्ने भन्दै उनीहरुले सरकारकाे गम्भीर ध्यानाकर्षण गराएका थिए ।तर नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले कति समयपछि नेपाली नागरिकता प्राप्त गर्ने भन्नेबारे प्रावधान नै नखुलाइ विधेयक पारित गरिएकाे छ ।
साे विधेयकमा गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ । १६ वर्ष पुगेपछि नागरिकता पाउने प्रावधान थपिएकाे छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
सरकारले बहुमतका बलमा पारित गरेकाे साे विवादास्पद विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रिय सभाबाट पारित भएपछि प्रतिनिधि सभाले साे विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपाल राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि कानुनका रुपमा लागू हुनेछ । याे लागू भएपछि यसले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्नेछ ।
