काठमाडाैं । नेकपा एमालेका सांसद् डा. भीम रावलले गठबन्धन सरकारले सभामुख अग्निप्रसाद सापकाेटा र संसदीय समितिकाे निर्देशन नमानेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् रावलले अमेरिकी स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) बारे सरकारकाे निर्णय कार्यान्वयनक र पत्र पठाएकाे अवस्था के छ भनेर निर्देशन दिएकाे ५ दिन बित्दा पनि सरकारले जानकारी नगराएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अमेरिकी स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) काे सम्बन्धमा सरकारकाे निर्णय कार्यान्वयनकाे अवस्था र पत्र पठाएकाे अवस्थाकाे सम्बन्धमा के छ भनेर सम्मानित सदनलाई जानकारी गराउनुका लागि सभामुखले निर्देशन दिनुभएकाे ५ दिन बित्याे, सरकार कहाँ छ ? याे देशमा छ कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे निर्णय नमान्ने ? समितिले असार ५ गते नै निर्देशन दिएकाे थियाे,सार्वभाैम संसद्बाट सभामुखले दिएकाे निर्देशन पनि नसुन्ने हाेइन सरकारले कहिलेदेखि श्रवणशक्ति गुमायाे भन्ने प्रश्न उठ्छ कि उठ्दैन ?'
राेस्ट्रमा बसेर आफूले प्रश्न गर्नुकाे रहस्य अहिले खुलेकाे भन्दै सांसद् रावलले भन्नुभयाे - 'राेस्ट्रमबाट बाेलेर सुन्छ कि भनेर म राेस्ट्रमै उभिएर बाेलेँ तर सुनेन,नेपाली जनताले चुनावमा कानकाे उपचार गरिदिन्छन् कि हेराैं ।'
नेपाल सम्झाैता पीडित देश भएकाे भन्दै उहाँले भारतले अग्निपथ याेजनाअन्तर्गत भारतीय सेनामा तालिमसहित ४ वर्षका लागि भर्ती गर्ने निर्णय गरेकाे बताउनुभयाे । नेपालीहरुमाथि गाेर्खा भर्ती सम्बन्धी असमान सन्धी थाेपरिएकाे भन्दै अग्निपथमा पनि त्याे लागू हुने बताउनुभयाे । यदि नेपालीलाई पनि अग्निपथ याेजनामा सामेल गराइएमा गम्भीर समस्या उत्पन्न हुने भन्दै सांसद् रावलले साे सन्धी भंग गर्न माग गर्नुभयाे ।
गठबन्धन सरकारले सिमाना मिचिएकाे कुरामा वार्ता गर्न र इपीजीकाे प्रतिवेदन बुझ्न पहल नगरेकाे पनि बताउनुभयाे ।
