काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद् प्रेम सुवालले गणपुरक संख्या नपुग्ने भन्दै नियमापत्ति जनाउनुभयाे ।
त्यसपछि सभामुख सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभयाे । ३ मिनेट घण्टी बजाएर गणपुरक संख्या यकिन गर्दा नपुगेपछि सभामुखले गणपुरक संख्या नपुगेकाे भन्दै बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयाे ।
२७५ सदस्यीय प्रतिनिधि सभामा गणपुरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ सांसद् आवश्यक पर्दछ । तर सांसद्हरु हाटा (हाजिर गरेर टाप) गरेर हिँडेपछि बैठक प्रभावित हुने गरेकाे छ ।
