काठमाडौं । कारागार विधेयक, २०७८ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकबाट साे विधेयक सर्वसम्मतिले पारित भएकाे हाे । गृहमन्त्री बालकृष्ण खाँडले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएकाे थियाे । त्यसपछि सभामुख सापकाेटाले विधेयक पारितका लागि निर्णयार्थ पेस गर्नुभएकाे थियाे ।
प्रतिनिधि सभाको आजकाे पहिलाे बैठकमा सांसद्हरु हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या अर्थात् ६९ सांसद् पनि उपस्थित नहुँदा बैठक १५ मिनेटका लागि स्थगित भएकाे थियाे । १५ मिनेटपछि बसेकाे दाेस्राे बैठकमा ४ सांसद् थपिएर ७१ सांसद् पुगेपछि विधेयक पारित भएकाे हाे ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा गणपुरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ सांसद् आवश्यक पर्दछ । कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा ६९ सांसद् उपस्थित हुनैपर्ने संवैधानिक व्यवस्था छ । पहिलाे बैठकमा ६७ सांसद् मात्रै उपस्थित भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे ।
अहिले प्रतिनिधि सभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाले गरेको संशोधनमाथि छलफल भइरहेको छ ।
