काठमाडाैं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौं-तराई फास्ट ट्रयाककाे काम समयमै सक्नका लागि ठोस कार्यातालिका बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिकाे बैठकले अहिलेकाे अवस्था हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त नदेखिएको ठहर गरेकाे छ । आयोजनाको लागत नबढ्नेगरी र समयमा नै आयोजनालाई सम्पन्न गर्ने गरी विश्वसनीय आधारसहितको ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई समितिले निर्देशन दिएको हो ।
समितिले साे कार्यतालिका यथाशिघ्र समितिलाई उपलब्ध गराउन मन्त्रिपरिषद् कार्यालय, रक्षा मन्त्रालय र सम्वद्ध आयोजनाहरुलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसका वातावरणीय पक्षहरुको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेस्राे पक्षबाट हुने अनुगमनको कार्यान्वयको जानकारी जानकारी १५ दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको सभापति खड्काले बताउनुभयो ।
बैठकमा काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना अन्तर्गत बिभिन्न खण्डमा ठेक्का लगाएर काम भइरहेको जानकारी दिनुभयो । उहाँले आयोजना निर्माण गर्दा वातावरणीय प्रभावलाई पनि सेनाले मध्यनजर गरेको दावी गर्नुभयो ।
समिति सदस्यहरुले आयोजनाको निर्माण गति निकै सुस्त भएको भन्दै आयोजना निर्माणमा देखिएका जटिलतालाई हटाएर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए । ०८१ मंसिरसम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एसियन हाइ–वे मापदण्डको राष्ट्रिय गौरवको साे आयोजनाको हालम्म २१ दशमलव १८ प्रतिशत मात्रे समस्टिगत प्रगति भएको छ । पूर्व निधारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरु अघि बढ्न सकेको छैन ।
