काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको 'काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 'काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन)प्राधिकरण विधेयक, २०७६' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । मन्त्री राईले 'काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवन्द्र पौडेलले 'शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको याेगमाया आयुर्वेद विश्वविद्यालय विधयेक, २०७८ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । उहाँले नै 'योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
