काठमाडाैं । नेकपा एमालेकी सांसद् गंगा चाैधरीले सत्तापक्षका सांसद्लाई लेण्डुप दाेर्जेसँग तुलना गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले नागरिकता विधेयकको संशोधनमा लेण्डुप दोर्जेको छायाँ देखिएको बताउनुभयाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे हालै भएको दिल्ली भ्रमणप्रति लक्षित गर्दै उहाँले दिल्लीमा भव्य स्वागत हुनु शंकास्पद भएकाे बताउनुभयाे ।
'मेरो दृष्टि भ्रम हो या सबैले यस्तै देखिरहेका छन्, सभामुखको दायाँपट्टी बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ, नपत्याए नागरिकता विधेयकको संशोधनमा हेरे हुन्छ, लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले दिल्लीमा रातो कार्पेट बिच्छ्याएर भव्य स्वागत गर्थिन् जबसम्म सिक्किम भारतमा विलय भएको थिएन, यसैगरी आजभोलि नेपाली नेतालाई दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ, यसैलेउहाँहरूको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको छ ।'
