काठमाडाैं । नेकपा एमालेका सांसद् भट्टराईले जनस्वास्थ्यका विषयमा सरकारले चासाे नदिएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले हैजा, मंकीपक्स र काेभिड-१९ काे नयाँ भेरियन्ट बढिरहेका बेला सरकारले सदनमार्फत जानकारी दिनुपर्नेमा त्यसाे नगरेकाे भन्दै आपत्ति जनाउनुभयाे ।
जनताको स्वास्थ्यमा गम्भीर हुन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयाे । सांसद् भट्टराईले विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा सिमानाहरूमा एउटै परीक्षण केन्द्र नराखेको भन्दै उहाँले जनस्वास्थ्यको विषयमा निद्रामा रहेकाे बताउनुभयाे ।
भारतमा चार जना संक्रमित भेटिसकको भन्दै खुल्ला सीमाका कारण सचेत हुनुपर्ने र नाकाहरुमा निगरानी बढाउनुपर्ने उहाँकाे सुझाव छ । अमेरिका, बेलायत लगायत विकसित देशलाई समेत मंकीपक्सले हायलकायल बनाएको भन्दै उहाँले यसबारे नेपालमा पनि सतर्कता अपाउनुपर्नेमा सरकारले कुनै ध्यान नदिएकाे बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसूचित गरेको छैन, सरकार मौन बसिरहेको छ, सरकार निद्राको अवस्थामा छ, सदनबाट पनि कुनै जानकारी दिएकाे छैन ।'
जनस्वास्थ्यकाे विषयमा गम्भीर हुन सरकारलाई उहाँले ध्यानाकर्षण गराउनुभयाे । उहाँले काठमाडाैं उपत्यकामा हैजा फैलिएकाे विषयमा पनि गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । अहिलेसम्म ३४ जनामा हैजा फेला परेको भन्दै उहाँले काठमाडौंमा हैजा फैलिसकेकाले महामारीको स्थिति उत्पन्न भएको बताउनुभयाे । हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुन सक्ने भन्दै सांसद् भट्टराईले पिउने पानीका मुहान र ट्यांकरको गुणस्तर परीक्षण गर्न सरकारसँग माग गर्नुभयाे ।
सांसद् भट्टराईले काेभिड-१९ काे नयाँ भेरियन्ट पनि देखा परेकाले यसतर्फ पनि ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
